सेयर बजारमा सामान्य सुधार, नेप्से ३.२७ अंकले बढ्यो
८ पुस, काठमाडौं — अघिल्ला तीन कारोबार दिन लगातार ओरालो लागेको सेयर बजार मंगलबार सामान्य सुधारसहित बन्द भएको छ।
मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेर २५८४ अंकमा पुगेको छ। कारोबार सुरु भएलगत्तै बजार उतारचढावपूर्ण रहँदै दिउँसो १२:२८ बजे २५६९ अंकसम्म झरेर दिनको न्यूनतम विन्दु छोएको थियो।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य घटेको छ। सोमबार ३ अर्ब ५१ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ३ अर्ब ४२ करोड रुपैयाँमा सीमित भयो। यस दिन १३४ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत सूचकतर्फ ‘अन्य’ समूह सबैभन्दा धेरै १.२८ प्रतिशतले बढ्यो। त्यसैगरी बैंकिङ ०.१०, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.१०, हाइड्रोपावर ०.२९, उत्पादन तथा प्रशोधन ०.२५ र माइक्रोफाइनान्स समूह ०.१७ प्रतिशतले उक्लिए।
व्यापार समूह स्थिर रहँदा निर्जीवन बीमा ०.१६, जीवन बीमा ०.७९, लगानी ०.३४ तथा विकास बैंक समूह ०.१६ प्रतिशतले घटे।
व्यक्तिगत कम्पनीतर्फ एसवाई प्यानलको सेयर मूल्य सबैभन्दा धेरै ७.०१ प्रतिशतले बढ्यो। गुराँस लघुवित्त ६.०१, सयपत्री हाइड्रोपावर ५.९६ र ग्रामिण विकास लघुवित्त ५.८५ प्रतिशतले उक्लिए।
घट्नेमा सिटिजन लाइफ इन्स्योरेन्स ५.९७ प्रतिशतले अगाडि रह्यो। त्यसैगरी सीवाईसी लघुवित्त ५.८७, पियोर इनर्जी ४.२८ तथा पोखरा फाइनान्स २.६८ प्रतिशतले घटे।
कारोबार रकमका आधारमा एसवाई प्यानल, सागर डिस्टिलरी, सीईडीबी होल्डिङ्स, लुम्बिनी विकास बैंक र मञ्जुश्री फाइनान्स सबैभन्दा धेरै कारोबार हुने पाँच कम्पनीमा परेका छन्।