गृहमन्त्री अर्याल : द्वन्द्व दोहोरिन नदिने वातावरण काबुमा, निर्वाचन सुरक्षामा सरकार सक्रिय
गृहमन्त्री ओमप्रकाश अर्यालले पुनः द्वन्द्व दोहोरिने खालका गतिविधि काबुमै राख्न सफल भएको बताएका छन्। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सरकार तीव्र गतिमा तयारीमा रहेको जानकारी दिए।
अर्यालका अनुसार राजनीतिक दल र जेन–जी समूहबीच संवाद जारी छ भने निर्वाचन निष्पक्ष, सुरक्षित र शान्तिपूर्ण बनाउन सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ। उनले लुटिएका हतियार, फरार कैदीबन्दी र जेनजी आन्दोलनसँग सम्बन्धित व्यवस्थापन प्रभावकारी रूपमा भइरहेको बताए।
मन्त्री अर्यालले प्रहरीको मनोबल बढाइने, क्षतिग्रस्त कार्यालयहरूको पुनर्निर्माणमा नागरिक समाजको साथ मिलेको उल्लेख गरे। “जनताले सुरक्षित वातावरणमा मतदान गर्न पाउँछन्,” उनले भने।
उनका अनुसार भाद्र २३ र २४ गतेका घटनामा संलग्न ५९५ जना पक्राउ परेका छन् भने २८३ जनामाथि मुद्दा दर्ता भएको छ। हालसम्म ७२३ थान हतियार फिर्ता ल्याइएको र फरार १४,५५४ मध्ये ९,६९७ कैदीबन्दी फिर्ता भइसकेका छन्। बाँकी ४,८५७ लाई ल्याउन विशेष अपरेसन सञ्चालन भइरहेको छ।
सरकारले निर्वाचन लक्षित गरेर अहिलेसम्म चार पटक केन्द्रीय सुरक्षा समिति बैठक राखी २० वटा निर्णय गरिसकेको मन्त्री अर्यालले बताए। म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढाइएको छ भने सेना परिचालनका लागि सुरक्षा परिषद्ले समेत निर्णय गरिसकेको जानकारी उनले दिए।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीका लागि २६२, सशस्त्र प्रहरीका लागि १०९ र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ सवारी साधन खरिद प्रक्रियामा रहेको मंत्री अर्यालले जानकारी दिए।
साथै, जेनजी आन्दोलनपछि उत्पन्न हुन सक्ने सम्भावित समस्या समाधानका लागि सहजीकरण सहायता कक्ष स्थापना गरिएको उल्लेख गर्दै उनले ९८५१३६०६०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरे।