कांग्रेस सभापति देउवाले महाधिवेशन संवन्धी छलफलमा निधि–सिटौलालाई पनि बोलाए
१२ मंसिर, काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्न नहुने अडानमा रहेका नेता विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौलालाई पनि आन्तरिक छलफलमा सहभागी गराएका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगनकुमार थापा तथा विश्वप्रकाश शर्मासँग महाधिवेशनसम्बन्धी महत्वपूर्ण छलफल गर्न लागिएको समयमा देउवाले दुवै नेतालाई महाराजगञ्जस्थित आफ्नो निवासमा बोलाएको स्रोतले बताएको छ। देउवाको बोलाहटपछि निधि र सिटौला नयाँ बानेश्वरस्थित आनन्दभूभि इभेन्ट्समा चलिरहेको संस्थापन पक्षीय भेला छोडेर बाहिरिएका थिए।
सभापति देउवाले बिहीबार पनि निधि, सिटौला लगायत पूर्वपदाधिकारी तथा केन्द्रीय नेताहरूसँग सामुहिक संवाद गरेका थिए, जहाँ आफ्नो नाम भजाइएको विषयमा असन्तुष्टि समेत व्यक्त गरेका थिए। पूर्वपदाधिकारीहरूसँगको छलफलपछि महामन्त्री थापा र शर्मासँग गरिएको बैठक कुनै निष्कर्षविना सकिएको थियो।