विराटनगरको कोशी अस्पतालको भवन तोकिएको समयमै बनाउन मन्त्री घिसिङको निर्देशन
काठमाडौं । जलस्रोत तथा ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले विराटनगरस्थित कोशी अस्पतालको निर्माणाधीन भवन तोकिएको समयसीमाभित्र सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन्।
आइतबार कोशी अस्पतालको निरीक्षण गरेका मन्त्री घिसिङले बिरामीको बढ्दो चापका कारण निर्माण ढिलाइ भएपछि अस्पताल प्रशासन र निर्माण व्यवसायीलाई काम तीव्र गतिमा सम्पन्न गर्न निर्देशन दिए।
कोशी अस्पतालअन्तर्गत निर्माण भइरहेको दुई भवनमध्ये रु २ अर्ब ४५ करोड लागतको ११ तले भवनको ३५ प्रतिशत मात्र काम सकिएको छ भने रु ३८ करोड लागतको चार तले भवन ६० प्रतिशत मात्र सम्पन्न भएको संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, विराटनगरले जानकारी दिएको छ।
निर्माण व्यवसायी *केसी एवं रमण कन्स्ट्रक्सन*ले करिब चार वर्षअघि काम सुरु गरेको भए पनि यसै वर्षभित्र हस्तान्तरण गर्ने सम्झौताअनुसार काम सम्पन्न गर्नुपर्नेछ।
निरीक्षणका क्रममा कोशी अस्पतालकी प्रमुख डा. रुणा झा र डिभिजनल इञ्जिनियर सुरेन्द्र साहले अस्पतालको वर्तमान अवस्था तथा निर्माण प्रगतिबारे मन्त्री घिसिङलाई जानकारी गराएका थिए।