सञ्चारमन्त्री खरेल ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’बाट स्वदेश फिर्ता
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल आज स्वदेश फिर्ता भएका छन्। उनी गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको ११ औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर फर्किएका हुन्। मन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया पुगेका थिए।
फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसन, रणनीति र चुनौती तथा दिगो डिजिटल भविष्यमा अन्तर्राष्ट्रिय सहकार्य विषयमा दुई सत्र सञ्चालन भएका थिए। मन्त्री खरेलले नेपालको एआई नीति, राष्ट्रिय एआई केन्द्र सञ्चालन र आगामी एआई काउन्सिल गठन प्रक्रियाबारे जानकारी प्रस्तुत गर्दै फोरम उपयोगी र फलदायी भएको बताएका छन्।
साथै उनले कोरिया सरकार र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सीसँग नेपालको प्राथमिकता र सहकार्यका अवसरमा छलफल गरेका छन्। फोरममा नेपालका साथै भुटान, श्रीलंका, पाकिस्तान, कम्बोडिया, लाओस, भियतनाम, काजकिस्तान, मंगोलिया र उब्जेकिस्तानका मन्त्री तथा वरिष्ठ नीति निर्माताहरु सहभागी भएका थिए।
सञ्चारमन्त्री खरेलले सिओल एआई स्मार्ट सिटी सेन्टर अवलोकन गरेका साथै नेपाली समुदायसँग पनि संवाद कार्यक्रम सम्पन्न गरेका छन्।