सन्तोष परियारको नयाँ अभियान: “सजिलो बाटो छैन, तर संघर्ष गर्नै पर्छ”
काठमाडौं, ७ मंसिर– रास्वपा छोडेर प्रगतिशील लोकतान्त्रिक अभियानमा लागेका सन्तोष परियारले नयाँ राजनीतिक बाटो सजिलो नभएको बताएका छन्। तर उनले भने, “सधैं सजिलो बाटो हिँड्न छुट छैन। संघर्ष गर्नु हाम्रो जिम्मेवारी हो।”
आज काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित वृहत एकता घोषणा सभामा सम्बोधन गर्दै परियारले अग्रज पुस्ता र जेनजी युवालाई सँगै लिएर अघि बढ्ने रणनीति अपनाइएको बताए। उनले सबै प्रगतिशील र वामपन्थी लोकतान्त्रिक पार्टीहरूलाई संकिर्णता छोडेर अभियानमा जोडिन आह्वान गरे।
परियारले भने, “यदि आज पनि समस्याबाट भाग्यौं भने इतिहासले हामीलाई छोड्ने छैन। बेइमान पुस्ता भन्नबाट रोक्ने छैन। त्यसर्थ संघर्ष गरौं। यो सजिलो बाटो त होइन, तर हामी सधैं सजिलो बाटो हिँड्न पाउँदैनौं।”
कार्यक्रममा अध्यक्षताको भूमिका समेत निर्वाह गरेका परियारले जेनजी आन्दोलनपछि देश संकटमा परेको भन्दै, अब जनताका लागि नयाँ इतिहास लेखिने बताए। उनले जारी राखे, “रुख त २० वर्ष अघि रोप्नुपर्थ्यो, तर आज ढिला गर्नु हुँदैन। जबसम्म शासकका इतिहास लेख्ने इतिहासकारहरू हुनेछन्, तबसम्म शिकारको होइन, सिकारीको इतिहास लेखिने छ। आजसम्म नेपालको इतिहास शासनसत्तामा बस्नेहरूको लेखियो, अब जनताको इतिहास लेखिने छ।”
परियारको अभियानले आगामी समयमा नेपालमा प्रगतिशील र लोकतान्त्रिक आन्दोलनलाई नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ।