कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन मिति विवाद समाधानमा दबाब
पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपामा सञ्चालन हुनेछ।
गत असोज २८ गतेबाट सुरु भएको बैठकमा अघिल्लो बिहीबारसम्म पदाधिकारी तथा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको थियो। त्यसपछि १५औँ महाधिवेशनको मिति निर्धारणलाई लिएर उत्पन्न विवाद समाधानका लागि अनौपचारिक छलफल गरिने भन्दै बैठक निरन्तर सारिँदै आएको हो।
प्रतिनिधिसभा निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विषयमा दुवै धार प्रकट भएपछि पदाधिकारीहरू सहमतिको मध्यमार्ग खोजिरहेका छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका शीर्ष नेताहरू विवाद चिर्न अनौपचारिक छलफलमा सक्रिय छन्।
पार्टी प्रचार विभाग प्रमुख मीनविश्वकर्माका अनुसार विवाद मिलाउन नेताहरू आज दिउँसोसम्म मध्यमार्गी प्रस्ताव ल्याउने दबाबमा रहेको बताइएको छ। उनले महाधिवेशन विवादलाई समाधान गर्न अनौपचारिक रूपमा निरन्तर वार्ता भइरहेको जानकारी दिए।
असोज २८ देखि चलिरहेको बैठकमा महाधिवेशनका लागि दुई फरक प्रस्ताव पेस भएका छन्। कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६–१९ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। सोही दिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गते गर्ने काउन्टर प्रस्ताव पेस गरेका थिए। थापाको प्रस्तावलाई इतर समूह र यादवको प्रस्तावलाई संस्थापन समूहले समर्थन गरेपछि विवाद तीव्र बन्दै गएको छ। अब दुवै प्रस्तावलाई मिलाएर मध्यमार्गी समाधान निकाल्ने प्रयासमा डा. शेखर कोइराला, सहमहामन्त्री महालक्ष्मी उपाध्यायलगायत नेताहरू सक्रिय छन्।