डा. भीम रावल: जेन–जी दमनको जिम्मा ओली र लेखकले लिनुपर्ने
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले जेन–जी आन्दोलनको क्रममा भएको दमनको जिम्मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा रावलले संसदीय प्रणालीअनुसार कुनै घटना घटेमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयको मन्त्री जिम्मेवार हुनुपर्ने बताए। उनले भदौ २४ गतेको विध्वंस कसले गरायो भन्ने विषयमा गहिरो अध्ययन र विश्लेषण आवश्यक रहेको उल्लेख गरे।
डा. रावलले बाह्य शक्तिको घुसपैठका कारण जेन–जी आन्दोलनमा ठूलो क्षति भएको आशंका व्यक्त गर्दै, वर्तमान सरकारले आगामी आम निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिम्मेवारी पूरा गर्नुपर्ने बताए।
साथै, उनले कैदीबन्दी र हातहतियार समाजमा बाहिर रहेकाले अराजकता बढेको जिकिर गर्दै, मुलुकको चुनौतीसँग सामना गर्न नेपाली कम्युनिष्ट पार्टीसँग एकता गरिएको जानकारी दिएका छन्।