कटहरिया नगरपालिकामा १५ दिनपछि तालाबन्दी खुलेको, तलब निकासाको आश्वासन
२५ कात्तिक, रौतहट ।
रौतहटको कटहरिया नगरपालिकामा करार र दैनिक ज्यालादारी कर्मचारीहरूले बक्यौता तलब–भत्ता भुक्तानीको माग गर्दै गरेकाे तालाबन्दी १५ औँ दिनमा खुलेको छ।
मेयर अजय प्रकाश जैसवालले समस्या समाधानमा चासो नदेखाएको भन्दै ९ वटै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरूले नगरपालिकाको ताला लगाएका थिए। सोमबार साँझ उनीहरूले तलब निकासा नभए पुनः तालाबन्दी गर्ने सर्तमा कार्यालय खोल्ने निर्णय गरेका हुन्।
वडाअध्यक्ष चन्दन कुशवाहाका अनुसार मेयरले मागप्रति बेवास्ता गरेपछि उनीहरू बाध्य भएर तालाबन्दीमा उत्रिएका थिए।
त्यस्तै, कार्यपालिका सदस्य मनोज कुमार जैसवालले भने, “मेयरले तत्काल बैठक बोलाए पनि तलब निकासाको पहल नगरेसम्म कुनै प्रस्तावमा हस्ताक्षर नगर्ने” सहमति सबै वडाअध्यक्ष र कार्यपालिका सदस्यबीच भएको बताए।
नगरपालिकामा हालसालै नयाँ प्रमुख प्रशासकीय अधिकृत (सीएओ) पदस्थापना भएपछि पहिलो प्राथमिकतामा कर्मचारीहरूको तलब–भत्ता निकासाको प्रक्रिया अघि बढाउने सहमति भएको जनाइएको छ।
१५ दिनसम्मको तालाबन्दीका कारण नागरिकता सिफारिस, सामाजिक सेवा, राजस्व संकलन लगायतका अत्यावश्यक सेवा अवरुद्ध भएका थिए। आजदेखि कार्यालय खुलेसँगै ती सेवाहरू पुनः सुचारु भएका छन्।