विप्लव नेकपा माओवादीले पायो दल दर्ता प्रमाणपत्र
२ मंसिर, काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सोमबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। पार्टीको चुनाव चिह्न गुलाब रहेको छ।
दल दर्ता पाउँदै पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले भने, “दल दर्तासँगै नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ हामी निर्वाचनमा जाने तयारीमा छौं। भोलिबाट देशभरि नयाँ अभियान सुरु हुनेछ।”
उनले जनतालाई आफ्नो पार्टीको अभियानमा सहभागी हुन अपिल गर्दै भने, “आज पनि जनतामा, भोलि पनि जनतामा। जनताले जुन बाटोबाट परिवर्तन सम्भव देख्छन् हामी तयार छौं।”
चुनावको सम्भावना सम्बन्धमा उनले भने, “चुनाव एक दिन त हुन्छ नै। समाजवाद आए पनि चुनाव हुन्छ। राष्ट्रिय सर्वपक्षीय अन्तरिम सरकार बनेमा सबै दलसँग मिलेर नयाँ व्यवस्था निर्माण गर्न सकिन्छ।”