उद्यमी–व्यवसायीका समस्या समाधानमा महासंघ ‘ट्रबलसुटर’ : अध्यक्ष चन्द्रप्रसाद ढकाल
काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ उद्यमी, व्यवसायी र राष्ट्रिय अर्थतन्त्रका समस्यामा ‘ट्रबलसुटर’ को भूमिका निभाउँदै आएको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित नेपाल विद्युतीय व्यवसायी महासंघको १६औँ वार्षिक साधारणसभा तथा छैठौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले महासंघले निजी क्षेत्रका हरेक जटिल समस्या समाधानका लागि राज्यसँग निरन्तर संवाद र पहल गर्दै आएको बताए।
ढकालका अनुसार उद्योगका श्रम सम्बन्धी मुद्दादेखि डेडिकेटेड तथा ट्रंकलाइन विवाद, लगानी वातावरण निर्माणका लागि कानुन संशोधन, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका प्रस्तावहरू तथा कालाबजारी ऐन संशोधनजस्ता विषयमा महासंघ निरन्तर सक्रिय रहँदै आएको छ।
उनले लामो समयदेखि विवादित रहेको डेडिकेटेड तथा ट्रंकलाइन समस्याको समाधानमा प्रधानमन्त्री सुशीला कार्की र ऊर्जा मन्त्री कुलमान घिसिङले देखाएको तत्परता सराहनीय रहेको उल्लेख गर्दै उनीहरूलाई धन्यवादसमेत दिए।
अध्यक्ष ढकालले उत्पादन वृद्धि र रोजगारी सृजनाका लागि स्वदेशी तथा विदेशी दुवै पुँजीको ठूलो आवश्यकता रहेको औंल्याए। मुलुक भित्र–बाहिर छरिएको साना पुँजीहरू एकीकृत गरी ठूला बहुआयामिक परियोजनामा लगानी गर्नुपर्ने बताउँदै उनले महासंघको नेतृत्वमा १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना गरिएको जानकारी दिए। उक्त कम्पनीमार्फत पूर्वाधार विकास, रोजगारी सिर्जना तथा उत्पादन–सेवा प्रवाह सहज बनाउन भूमिका निर्वाह भइरहेको पनि उनले बताए।
हालैको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठ र निजी सम्पत्तिमाथि भएको क्षतिबारे उनले चिन्ता व्यक्त गर्दै यसमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरे।
‘हामी सबैको साझा उद्देश्य मुलुकको विकास र समृद्धि हो,’ ढकालले भने, ‘यसका लागि सबै क्षेत्रको हातेमालो आवश्यक छ।’