नेपाल कम्युनिस्ट पार्टी र मार्क्सवादी पार्टी एक भए
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)बिच पार्टी एकता भएको छ ।
लोकनारायण सुवेदी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र अम्बिकाप्रसाद थैब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(मार्क्सवादी)बिच पार्टी एकता भएको हो ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच एकता भएलगत्तै पार्टीका संयोजक लोकनारायण सुवेदीले ‘नेकपा’ नाममा प्रचण्डले बलमिच्याइँ गरेकोमा आपत्ति जनाए । ‘नेपाल कम्युनिस्ट पार्टी नामको दल यसअघि नै निर्वाचन आयोगमा दर्ता थियो, प्रचण्डले बलमिच्याईँ गरे अब हामी सर्वोच्च अदालत जान्छौं’, नेता सुवेदीले भने ।
नेपाल कम्युनिस्ट पार्टी(मार्क्सवादी)का अध्यक्ष अम्बिकाप्रसाद थैबले देशको वर्तमान राजनीतिक संकट र वर्गसंघर्षलाई मध्यनजर गरेर आजको आवश्यकता अनुसार एकता गरेको बताए ।
एकतापछि बनेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहेको संयोजक लोकनारायण सुबेदीले बताए । पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेलिनवाद–माओविचारधारा राखिएको पनि पार्टीले जनाएको छ ।