मधेश प्रदेशका पाँच सांसदको पदमुक्ति रोक्न सर्वोच्चको आदेश
१ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई ती सांसदहरूलाई तत्काल प्रभावले पदमुक्त नगर्न भनिएको हो।
गत कात्तिक २७ गते सभामुख मण्डलले जनता समाजवादी पार्टी (जसपा) का मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलवार तथा नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंहलाई पदमुक्त गर्ने निर्णय गरेका थिए।
सभामुखको उक्त निर्णयविरुद्ध पाँचै जना सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। मुद्दाको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले सभामुखको कदम रोक्दै अन्तिम फैसला नआएसम्म उनीहरूलाई पदमुक्त नगरिन आदेश दिएको हो।
यस अन्तरिम आदेशसँगै पाँचै सांसदको पद अहिले यथास्थितिमा रहने भएको छ।