गृहमन्त्री अर्यालको शीतलहर र हिमपातमा सतर्कता आग्रह
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपातका कारण कुनै नागरिकको ज्यान नजाओस् भन्ने उद्देश्यसहित सरकारले सतर्कता अपनाएको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सङ्कट आउन नदिन सङ्घ, प्रदेश, स्थानीय सरकार तथा सम्बद्ध सबै पक्षसँग सहकार्य, प्रतिबद्धता र समर्पण आवश्यक रहेको बताए।
अर्यालले भने, “संकटमा रहेका वर्ग, क्षेत्र र समुदाय केन्द्रित पूर्व तयारी र प्रतिकार्य गर्न जिम्मेवार सबै निकायलाई निर्देशन गर्दछु। शीतलहर र हिमपातका कारण कुनै नागरिकको जीवन नजाओस्, र देशको चालु विकास प्रक्रिया अवरुद्ध नहोस्। यसका लागि सुरक्षा निकाय, दातृ संस्था र नागरिक समाज सबैको सहकार्य अपेक्षित छ।”
उनले हिमपातले देशको विकास प्रक्रिया अवरुद्ध हुन नदिन पूर्वतयारीमा जोड दिन समेत आग्रह गरे।