मुख्यसचिव अर्याल आजदेखि अवकाशमा
मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै छन्। उनलाई अवकाश दिएको छ भने सरकारको सोमबारको निर्णयअनुसार सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरिएको छ।
वि.सं. २०८१ भदौ १३ गते नेपालको निजामती सेवाको सर्वोच्च ओहोदाका रूपमा रहेको मुख्यसचिव पदमा एकनारायण अर्याल नियुक्त भएका थिए। मुख्यसचिवका रूपमा उनले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहका क्षेत्रमा महत्वपूर्ण काम भएको दाबी गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, उनको कार्यकालमा नीतिगत तथा कानुनी सुधारको नेतृत्व र सहजीकरणका कारण सार्वजनिक सेवा प्रवाह र विकास निर्माणमा देखिने ढिलासुस्ती हटेर सहजीकरण भएको छ।
जेनजी आन्दोलनको व्यवस्थापन तथा विभिन्न पक्षसँग वार्ता, संवाद र छलफलमार्फत मुलुकमा शान्ति र स्थायित्व कायम गर्न नेतृत्व प्रदान गरिएको पनि मुख्यसचिव अर्यालले बताए। त्यस्तै, अनुपयुक्त कार्यविधि र मापदण्डहरूको खारेजी तथा सहकारी क्षेत्रमा देखिएका समस्याको समाधानका लागि प्राधिकरण गठन गरिएको छ।
एकीकृत सामाजिक सुरक्षा कार्यक्रमका लागि जैविक तथ्याङ्कको प्रयोगलाई उनले विशेष प्राथमिकतामा राखेका थिए। साथै, ‘ग्रेलिष्ट’बाट बाहिरिन सुधारात्मक कार्ययोजना निर्माण र कार्यान्वयनका लागि आवश्यक पहल गरिएको बताइन्छ। यससँगै सरकारले पहिलो पटक सम्पत्ति शुद्धिकरण निवारण राष्ट्रिय दिवस मनाउने निर्णय पनि गरेको छ।
सार्वजनिक सेवा प्रवाहका लागि विद्युतीय प्रणालीको उपयोग, अन्तरआवद्धता र रूपान्तरणमा जोड दिइएको छ। सबै सेवाको सुरुबिन्दु राष्ट्रिय परिचयपत्रलाई बनाउने उद्देश्यले परिचयपत्र नम्बरका आधारमा सेवा प्राप्ति र उपयोग सुनिश्चित गर्न प्रणाली सुधारिएको छ।
उनको कार्यकालमा अन्तर्राष्ट्रिय सहभागितासहितको सगरमाथा संवादको सहजीकरण, नीति प्रयोगशाला अवधारणाको विकास र कार्यान्वयनमा पनि विशेष जोड दिइएको छ।