कानुन व्यवसायीलाई भेट्न नदिएपछि विवाद : प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंका पक्षबाट विरोध
काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न गएका उनको कानुनी टोलीलाई प्रहरीले भेटाउन नदिएपछि विवाद उत्पन्न भएको छ।
गएराति भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ। आज बिहान कानुन व्यवसायीहरू उनलाई भेट्न पुगेका थिए, तर ‘माथिको आदेश’ भन्दै प्रहरीले भेट्न नदिएको अधिवक्ता विनोदमणि भट्टराईले बताए। उनका अनुसार यो कदम संविधानमा सुनिश्चित गरिएको कानुनी परामर्शको अधिकारविपरीत रहेको भन्दै नेपाल बार एसोसिएसनको ध्यानाकर्षण आवश्यक भएको छ।
संविधानको धारा २०(२) अनुसार पक्राउ परेका व्यक्तिले आफूले रोजेको कानुन व्यवसायीसँग तत्त्काल परामर्श गर्न पाउने व्यवस्था छ। तर शत्रु देशका नागरिकका लागि भने यो सुविधा लागू हुँदैन।
यसैबीच, प्रसाईंको पक्राउको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। सो दलका अध्यक्ष माधव प्रसाद खतिवडाले (माधव कल्पित) प्रसाईंलाई २४ घण्टाभित्र रिहाइको माग गर्दै आज दिउँसो १:३० बजे सिडिओ कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जानकारी दिए।