सामाजिक सुरक्षा कोषमा ९४ अर्ब रुपैयाँ जम्मा
सामाजिक सुरक्षा कोषमा हालसम्म कूल ९४ अर्ब ९ करोड १ लाख ७९ हजार रुपैयाँ जम्मा भएको छ। कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजार रुपैयाँ योगदानकर्तालाई भुक्तानी गरिसकेको छ।
कोषमा कूल २५ लाख ९२ हजार १४१ जना सूचीकृत योगदानकर्ताहरू रहेका छन्। त्यस्तै, कोषमा २२ हजार १२५ सूचीकृत रोजगारदाता छन्। रोजगारदातालाई क्रमशः सूचीकृत गराउने कार्य निरन्तर चलिरहेको कोषले जनाएको छ।
कोषमार्फत औषधोपचार, स्वास्थ्य तथा मातृत्व दाबीका शीर्षकमा २ अर्ब ४२ करोड ५० लाख ८१ हजार रुपैयाँ भुक्तानी गरिएको छ। यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा दाबीमा २२ करोड ३१ लाख ६३ हजार, आश्रित परिवार सुरक्षा दाबीमा २८ करोड ३५ लाख ९७ हजार र अवकाश दाबीमा १४ अर्ब ३६ करोड १२ लाख ८ हजार रुपैयाँ भुक्तानी गरिएको छ।