सिमराको तनावबारे छलफल गर्न सुरक्षा परिषद् बैठक
४ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामामा उत्पन्न भइरहेको सुरक्षा स्थिति सम्वन्धी गम्भीर संवेदनशीलता बढेपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन्। बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बस्ने छ।
सरकारका अनुसार सिमरामामा पछिल्ला घटनाक्रम र बिग्रँदो अवस्था नियाल्दै आवश्यक सुरक्षा कदमबारे रणनीति बनाउन बैठक बोलाइएको हो। यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो।
बुधबार सिमरामामा जेनजी युवाहरूले एमाले नेताहरू विमानस्थल हुँदै आउने सूचना पाएपछि विरोध प्रदर्शन गर्दै विमानस्थल क्षेत्रमा तोडफोड गरेका थिए। परिस्थिति नियन्त्रणबाहिर गएपछि प्रदर्शनकारीहरूले सडकमा आगजनी समेत गरे, जसका कारण अवस्था थप तनावग्रस्त बनेको थियो।
स्थिति नियन्त्रणका लागि बुधबार साँझ ८ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो। आज पनि अवस्था पुनः उत्तिकै तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यू लागू गरेको छ।
उक्त घटनाबारे चासो प्रकट गर्दै राष्ट्रिय मानव अधिकार आयोगले शान्ति–सुरक्षा मजबुत बनाउन र तनाव न्यूनिकरणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ।