मन्त्री खरेलले एनआरएनएलाई राजनीतिक दल नबन्न गरे आग्रह
काठमाडौँ — अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई राजनीतिक दल नबन्न आग्रह गरेका छन्। आइतबार आयोजित एनआरएनएको एकता घोषणा कार्यक्रममा उनले संस्थाका नेताहरू राजनीतिक दलमा आबद्ध हुँदा एनआरएनाको गरिमा खस्किएको बताएका हुन्।
मन्त्री खरेलले भने, “नेपालमा गैरआवासीय नेपाली संघ भन्ने बित्तिकै यस्तो ओज, सम्मान र विश्वास स्थापित थियो, तर पछिल्ला वर्षमा धेरै नेता राजनीतिक दलसँग जोडिँदा यसको गरिमा घटेको छ। अब एनआरएनालाई समग्र गैरआवासीय नेपाली र राष्ट्रको हितमा राख्न ठुलो अवसर आएको छ। पार्टीको रूपमा नबन्नुहोस्।”
उनले गैरआवासीय नेपालीका लागि मतदानको व्यवस्था, नागरिकता कार्यान्वयनमा देखिएका समस्या समाधानमा सरकार गम्भीर रहेको जानकारी दिएका छन्। मन्त्री खरेलले एनआरएनालाई राजनीतिमुक्त राखेर संस्थाको मूल उद्देश्य र गरिमा कायम राख्न आग्रह गरेका छन्।