विकास बैंकहरूको नाफा आधाभन्दा बढी घट्यो
२१ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा राष्ट्रियस्तरका विकास बैंकहरूको नाफा आधाभन्दा बढी घटेको छ। राष्ट्रियस्तरका सात विकास बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उनीहरूको खुद नाफा गत वर्षको तुलनामा ५२.३५ प्रतिशतले घटेर ६९ करोड ५२ लाख रुपैयाँमा सीमित भएको छ।
गत वर्ष सोही अवधिमा यी बैंकहरूले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए। सातवटामध्ये लुम्बिनी विकास बैंक मात्र नोक्सानीमा परेको छ, जसले पहिलो त्रैमासिकमा ३४ करोड रुपैयाँ नोक्सानी व्यहोरेको छ। उता, गरिमा विकास बैंक सबैभन्दा बढी २५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दै अग्रस्थानमा रहेको छ। विकास बैंकहरूको निष्क्रिय कर्जा (NPL) पनि औसतमा बढेको छ। गत वर्ष औसत निष्क्रिय कर्जा ४ प्रतिशत रहेकोमा यस वर्षको पहिलो त्रैमासिकमा यो ५.५७ प्रतिशत पुगेको छ।
लुम्बिनी र ज्योति विकास बैंकको निष्क्रिय कर्जा दर क्रमशः ७.७८ र ७.९७ प्रतिशत रहेको छ। प्रतिसेयर आम्दानी (EPS) का आधारमा कामना सेवा विकास बैंक सबैभन्दा अगाडि रहेको छ, जसको EPS २०.४६ रुपैयाँ छ। त्यसपछि क्रमशः गरिमा विकास बैंकको १७.६४, साइन विकास बैंकको १६.६६, मुक्तिनाथ विकास बैंकको १२.७६, महालक्ष्मी विकास बैंकको ९.०८ र ज्योति विकास बैंकको ६.४ रुपैयाँ रहेको छ।
लुम्बिनी विकास बैंकको प्रतिसेयर आम्दानी भने ऋणात्मक ९.६२ रुपैयाँ रहेको छ। नाफा घट्नु र निष्क्रिय कर्जा बढ्नुले आगामी त्रैमासिकहरूमा विकास बैंक क्षेत्रका लागि चुनौतीपूर्ण अवस्था सिर्जना गर्ने संकेत विश्लेषकहरूले गरेका छन्।