दुर्गा प्रसाईंद्वारा आन्दोलन जारी रहने दाबी, सरकारको चासो नदेखिएको गुनासो
काठमाडौं, १७ मंसिर – राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्ना पूर्वघोषित आन्दोलन नरोकिने स्पष्ट पारेका छन्।
सोमबार आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले सरकारलाई आफ्नो मागबारे जानकारी गराए पनि कुनै चासो नदेखिएको बताए। उनले भने, “शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार छ, त्यसलाई कसैले रोक्न सक्दैन।”
प्रसाईंले वर्तमान सरकारले नागरिकका प्रश्नभन्दा निर्वाचनमा मात्रै ध्यान केन्द्रित गरेकोमा आपत्ति जनाउँदै, आफ्नो एजेन्डाबारे जनमत सङ्ग्रह गर्नुपर्ने माग राखेका छन्।
उनले आन्दोलन शान्तिपूर्ण तर दृढ रूपमा अघि बढाइने र जनताको सहभागितामा मुद्दा उठाइने बताएका छन्।