नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्यो
काठमाडौँ – नेपाली कांग्रेसले आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराएको छ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल निर्वाचन आयोगमा पुगेर दुईवटै निर्वाचनका लागि दल दर्ता गराएका हुन्। पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी दर्ता भइसकेको जानकारी पनि दिएका छन्।
यसअघि शनिवार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी मुख्यसचिव पौडेललाई दिएको थियो।
बैठकको निर्णय अनुसार, “संवत् २०८२ साल माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘नेपाली कांग्रेस’लाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिएको छ। सो प्रयोजनका लागि दल दर्ता गर्ने लगायतका कानुन बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका मुख्यसचिवलाई जिम्मेवारी प्रदान गरिएको छ।”
यस कदमसँगै नेपाली कांग्रेस आगामी निर्वाचनमा औपचारिक रुपमा तयारीमा लागिसकेको छ।