८ घण्टादेखि जारी एमाले सचिवालय बैठक, महाधिवेशन तयारीमै मुख्य केन्द्रविन्दु
काठमाडौं — नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ८ घण्टा बितिसक्दा पनि सकिएको छैन। पार्टी कार्यालय च्यासलमा बिहीबार दिउँसो १ बजेबाट सुरु भएको बैठक रातीसम्म जारी रहेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन्।
बैठकको मुख्य एजेन्डा आगामी ११औँ महाधिवेशनको तयारी नै रहेको स्रोतहरूले बताएका छन्। मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक संरचना, कार्यविभाजन र राजनीतिक प्रतिवेदनका विषयमा विस्तृत छलफल भइरहेको बताइएको छ।
यसबाहेक, फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन, माघ ११ को राष्ट्रिय सभा निर्वाचन तथा मंसिर ६ गते प्रतिनिधि सभा पुनर्स्थापनाका लागि काठमाडौंमा गर्ने प्रदर्शनबारे पनि बैठकमा चर्चा भएको छ।
लामो समयसम्म चलिरहेको सचिवालय बैठकमा आगामी राजनीतिक कार्यक्रम, चुनावी रणनीति र संगठन सुदृढीकरणका विषयहरूमा नेताहरूले आ–आफ्ना धारणा राखिरहेका छन्। पार्टीले महाधिवेशनलाई सफल बनाउन यसै बैठकमार्फत महत्वपूर्ण नीतिगत मार्गनिर्देशन तय गर्ने अपेक्षा गरिएको छ।