एकता वा सहकार्यको दिशामा जसपा आज निर्णय गर्ने
२ मंसिर, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समिति बैठक आज पनि बस्दैछ। नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने कि मधेसवादी दलहरूसँग सहकार्य गर्ने भन्ने विषयमा ठोस निर्णय लिन बैठक निरन्तरता दिइएको हो।
सोमबारदेखि सुरु भएको बैठकले बुधबार निष्कर्षमा पुग्ने जसपा नेता प्रदीप यादवले बताएका छन्। १५ सदस्यीय कार्यकारिणी समितिमा चार जनालाई आमन्त्रित सदस्यका रूपमा समावेश गरिएको छ।
नेता यादवका अनुसार पार्टीभित्र नेपाली कम्युनिस्ट पार्टीसँग एकीकृत हुने र मधेसवादी धारका दलसँग मिल्ने दुई फरक मत देखिएका छन्। आज दिउँसो २ बजे बस्ने बैठकमा यस सम्बन्धमा औपचारिक निर्णय हुने जनाइएको छ।