निर्वाचन आयोगद्वारा नयाँ दल दर्ताको समयावधि मंसिर ६ गतेसम्म बढाइयो
काठमाडौं — निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताको समयावधि मंसिर ६ गतेसम्म बढाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार यसअघि कात्तिक ३० गतेसम्म मात्र निवेदन दिन सकिने बताइएको थियो, तर अब नयाँ दल दर्ता गर्न इच्छुक पक्षले मंसिर ६ गतेसम्म निवेदन पेश गर्न सक्नेछन्।
भट्टराईले भने, “मंसिर १ गतेबाट निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय सुरु हुन्छ। नयाँ दल दर्ता गर्नेहरुको हकमा पनि मंसिर ६ गतेसम्म प्रक्रिया पुर्याएर आएका निवेदन लिने र चुनावका लागि पुनः ७ गतेभित्र दर्ता गराउनुपर्नेछ।”
आयोगले हालसम्म आइतबारसम्म १२२ वटा राजनीतिक दल कायम रहेको जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार, सरकारले चुनाव घोषणा गरेपछि ७ वटा नयाँ दल दर्ता भएका छन् भने ७ वटा दल खारेज भएका छन्। थप २८ वटा दल दर्ता प्रक्रियामा रहेका छन्, र ती दलको सनाखत र कागजात जाँच भइरहेको छ।