राप्रपाले दुर्गा प्रसाईँ पक्राउको विरोध गर्यो
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अभिव्यक्ति दिएको आधारमा पक्राउ गरिएको विषयमा कडा विरोध जनाएको छ।
मंगलबार राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै भने, प्रसाईँको पक्राउले सरकारले फरक विचारलाई दबाउने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने, अप्रजातान्त्रिक र तानाशाही प्रवृत्ति प्रदर्शन गरेको स्पष्ट गरेको छ।
विज्ञप्तिमा भनिएको छ, *"अभिव्यक्ति दिएकै आधारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँलाई निजी निवासमा सुतिरहेको अवस्थामा मध्यरातमा पक्राउ गर्नु अमानवीय, निन्दनीय र खेदजनक छ।"*
राप्रपाले प्रसाईँलाई अविलम्ब र बिना सर्त रिहा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
प्रसाईँलाई सोमबार प्रहरीले घरबाटै पक्राउ गरेको थियो। उनी मंसिर ७ गते आन्दोलनको घोषणा पनि गरिसकेका थिए।