निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको गृहमन्त्री अर्यालको भनाइ
भैरहवा, मंसिर ९ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले आफूलाई सुम्पिएको विशेष जिम्मेवारी पूरा गरी छिट्टै निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन्। गृह मन्त्रालय तथा लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
गृहमन्त्री अर्यालका अनुसार वर्तमान सरकार कसैको ‘निगाहामा बनेको’ वा व्यक्तिगत इच्छा–आकांक्षाका आधारमा बनेको सरकार होइन।
“देशको विशिष्ट परिस्थिति, राजनीतिक शून्यता र परिस्थितिले दिएको जिम्मेवारीकै कारण हामी आएको हौं,” उनले भने, “हामीलाई कुनै व्यक्तिगत लोभ–लालसा छैन। प्राप्त जिम्मेवारीलाई अर्जुन दृष्टिमा राखेर काम गर्दैछौं, र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छौं।”
अर्यालले सुशासनको आधार बलियो बनाउँदै आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु नै वर्तमान सरकारको मुख्य कार्यभार रहेको स्पष्ट पारे।
उनका अनुसार विभिन्न बहाना देखाउँदै चुनाव हुन सक्दैन भन्ने जस्ता अभिव्यक्तिलाई सरकारले आफ्ना काम र परिणाममार्फत प्रत्युत्तर दिइरहेको छ।
“हामी मूलमन्त्रका रूपमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं,” उनले भने, “सरकारले आफ्नो भूमिकाबाट जवाफ दिनेछ।”
मन्त्री अर्यालले वर्तमान सामान्य शान्ति–सुरक्षाको वातावरण सबै पक्षको अथक प्रयासको नतिजा भएको बताए।
उनका अनुसार अभिव्यक्तिको स्वतन्त्रता प्रयोग गर्दा सबैले जिम्मेवारीबोध गर्न आवश्यक छ।
“हाम्रा छोराछोरीले नै हाम्रो काम गर्ने शैलीमा प्रश्न उठाइसकेपछि पनि हामी नसच्चिने हो भने फेरि अर्को दुर्घटना नहोला भन्न सकिन्न,” उनले चेतावनी दिए।
आगामी निर्वाचनलाई निस्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन सरकारले अघि बढाइ रहेका कदममध्ये यो सुरक्षा गोष्ठी पनि महत्वपूर्ण रहेको मन्त्री अर्यालले बताए।
उनका अनुसार गोष्ठीमार्फत लुम्बिनी प्रदेशका सुरक्षा चुनौतीहरू पहिचान गरी आवश्यक रणनीति निर्माण गरिनेछ।
“यस गोष्ठीमा सुरक्षा चुनौतीको संश्लेषण, आवश्यक रणनीति तय गर्ने र निर्वाचनका लागि तयारी गर्ने काम हुनेछ,” उनले भने।
गृह मन्त्रालयले निकट भविष्यमा निर्वाचन सम्वन्धी सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउन थप कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।