ओलीको आरोप: ‘भदौ २४ पछि मुलुकमा भय र सन्त्रास, नागरिक आफैंले सुरक्षा गर्नु पर्ने अवस्था
काठमाडौं, असोज २९ –नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ यताका घटनापछि मुलुक भय र सन्त्रासको चपेटामा परेको आरोप लगाएका छन्। ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटीको दशौं बैठकमा विशेष प्रस्ताव पेस गर्दै ओलीले शान्ति सुरक्षाको अवस्था गम्भीर भएको दाबी गरेका हुन्।
‘मुलुकका राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षकको प्रस्तावमार्फत ओलीले सरकार शान्ति सुरक्षामा असफल भएको भन्दै राज्यका सुरक्षा संयन्त्रबारे गम्भीर प्रश्न उठाएका छन्।
ओलीले प्रस्तुत गरेको विशेष प्रस्तावमा भनिएको छ, “राज्यका सुरक्षा निकायबाट खोसिएका १२ सयभन्दा बढी हतियार र झन्डै एक लाख गोलीगठ्ठा अझै पनि अपराधीहरूकै हातमा छन्। फरार कैदीमध्ये साढे ५ हजारभन्दा बढी हालसम्म पक्राउ परेका छैनन्। ती अपराधीहरू खुलेआम समाजमा त्रास फैलाइरहेका छन्।”
उनले लुटिएका हतियार, ध्वस्त संरचना र प्रहरीको मनोबल कमजोर भएको कारण बर्बर हत्या र आक्रमणका घटनाहरू बढ्दै गएको बताए।
अध्यक्ष ओलीले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न पूर्ण रूपमा असफल भएको दाबी गरे। “सरकार निकटका मान्छेहरूले नै राज्य आतंकका लागि उक्साइरहेका छन् तर सरकार मौन छ,” ओलीको आरोप छ।
उनले प्रशासन र विकास आयोजनामा पनि हस्तक्षेप बढेको भन्दै चिन्ता व्यक्त गरे। “अनधिकृत व्यक्तिहरूले नि:शुल्क सेयर माग्दै विकास आयोजनामा हस्तक्षेप गरिरहेका छन्, प्रशासकहरू धम्क्याइएका छन्, तर सरकार देखेरै नदेखेझैं बसेको छ,” प्रस्तावमा उल्लेख छ।
वर्तमान परिस्थितिमा नागरिकले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने अवस्था आएको भन्दै ओलीले टोल–टोलमा सुरक्षा समिति गठन गर्न आह्वान गरे। “गस्ती गर्ने, सुरक्षाकर्मीहरूलाई सघाउने र ध्वस्त सुरक्षा संरचना पुनर्निर्माण गर्न नागरिकले भूमिका खेल्नुपर्छ,” ओलीले बैठकमा भने।