गणतन्त्रविरुद्धको षड्यन्त्र स्वीकार्य छैन : मुख्यमन्त्री बानियाँ
भक्तपुर, कात्तिक ६ — नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले बुधबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले लोकतन्त्रले जनतालाई सार्वभौम बनाएको उल्लेख गर्दै व्यवस्था परिवर्तन नभई त्यसैभित्र रहेर समस्या समाधान गर्नुपर्नेमा जोड दिए।
उनले भने, “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हाम्रो सामूहिक उपलब्धि हो। त्यसविरुद्ध कुनै पनि षड्यन्त्र, कुनै पनि बहानामा स्वीकार्य हुन सक्दैन।”
कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले ‘जेनजी’ प्रदर्शनलाई जनआवाजको रूपमा लिनुपर्ने बताए। उनका अनुसार, उक्त आन्दोलन अनियमितता र भ्रष्टाचारविरुद्धको आक्रोश थियो, जसले राजनीतिक दलहरूलाई आत्ममूल्यांकन गर्न प्रेरित गरेको छ।
मुख्यमन्त्री बानियाँले भने, “अब जेनजी प्रदर्शनबाट पाठ सिकेर दलहरू सुध्रिनुपर्छ। जनताले पठाएका प्रतिनिधिहरूले इमानदारीपूर्वक काम गरे भने कसैसँग डराउनुपर्ने अवस्था आउँदैन।”
उनले आगामी दिनमा यस्ता आन्दोलन नदोहोरिन दिन वडादेखि केन्द्रसम्मका जनप्रतिनिधीले जनपक्षीय काममा ध्यान दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा ले पनि संविधान र लोकतन्त्रको संरक्षणका लागि पार्टी एकताबद्ध भएर सङ्गठन सुदृढीकरण र जनसेवामा जुट्नुपर्ने धारणा राखे।