सुनको भाउ प्रतितोला ७ सयले घट्यो, चाँदी ४५ रुपैयाँले महँगियो
१२ कात्तिक, काठमाडौं । बुधबार देशभर सुनको मूल्य घटेको छ भने चाँदीको भाउ भने बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्दै २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुग्दै प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बुधबार (नेपाली समय बिहान ११ बजे) प्रतिऔंस ३,९५८ अमेरिकी डलरमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने आज बढेको छ। अघिल्लो दिन २,९२० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४५ रुपैयाँले बढेर २,९६५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।