जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भए देउवा, सानेपामा केन्द्रीय समिति बैठकमा सहभागी
काठमाडौं, असोज २७ – गत भदौ २४ गते भएको जेनजी आन्दोलन पछि कांग्रेस सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन्। मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन आउने क्रममा उनी सार्वजनिक भएका हुन्।
आन्दोलनकारीद्वारा बुढानीलकण्ठस्थित निवासमै निर्घात कुटपिटमा परेका देउवा त्यसयता सार्वजनिक कार्यक्रमहरूबाट पूर्णरूपमा टाढा थिए। देउवासँगै उनकी पत्नी सांसद डा आरजु राणा देउवा पनि कुटपिटमा परेकी थिइन्।
घटनापछि देउवा दम्पतीलाई नेपाली सेनाले उद्धार गरेको थियो। उनीहरूलाई सुरक्षाका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास ८८पटकपटक असफल भएपछि अन्ततः स्थलमार्ग हुँदै अस्पताल पुर्याइएको थियो।
घाइते देउवाको उपचारबारे सुरक्षाको कारण गोप्य राखिएको थियो। यद्यपि, कांग्रेस नेता मीन विश्वकर्माले पत्रकार सम्मेलनमार्फत देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको जानकारी दिएका थिए।
जेनजी आन्दोलनपछिको अस्थिरता, आन्तरिक असन्तोष र देउवामाथिको प्रत्यक्ष आक्रमणपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको छ। मंगलबारको केन्द्रीय समिति बैठकमा महाधिवेशन समयमै गर्ने वा विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने विषय प्रमुख एजेन्डा रहेको छ।
सभापति देउवा आजको बैठकमा उद्घाटन मन्तव्य दिएर बाहिरिने तयारीमा रहेको बताइएको छ।