जेनजी आन्दोलन : "मानवीय क्षति टार्न बल प्रयोग नगरेका हौं" — सेना
काठमाडौं, कात्तिक १ — जेनजी आन्दोलनको क्रममा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी, हिंसा र क्षति तथा नेपाली सेनाको भूमिकालाई लिएर उठेका प्रश्नहरूबीच, सेनाले औपचारिक पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेको आरोपहरूको खण्डन गर्दै विस्तृत विवरण सार्वजनिक गरेको छ।
शुक्रबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सेनाका उपरथी अनुपजंग थापाले आन्दोलन नियन्त्रणका क्रममा सिंहदरबारलगायत संरचनाहरू जोगाउने प्रयास नगरेको भन्ने आरोप पूर्णतः गलत भएको दाबी गरे। "प्रदर्शनकारीलाई तितरबितर पार्न हामीले ४६ राउन्ड हवाई फायर गर्यौं। पहिलो पटक आगो लागेको बेला सेनाको दमकलले नै निभाएको थियो," उनले भने, "तर दोस्रो पटक आगो निभाउन जाने क्रममा प्रदर्शनकारीहरूले दमकल अड्याएका कारण ढिला भएको हो।"
सेनाका अनुसार, जेनजी आन्दोलनको समयमा भौतिक सम्पत्तिभन्दा पनि जीवन रक्षामा प्राथमिकता दिइएको थियो। उपरथी थापाले भने, "हामीले बल प्रयोग गर्दा ठूलो मानवीय क्षति हुने देखिएकोले त्यस्तो निर्णय लिइएन।"
सेनाले अति विशिष्ट व्यक्ति र उनीहरूका परिवारका ६३ जनाको सुरक्षित उद्धार गरेको जनाएको छ। त्यस्तै, २३ जना प्रहरीको हवाई उद्धार तथा १२९ जनाको जमिनमार्गबाट उद्धार गरिएको छ। विमानस्थलमा जिलेटिनसहित भिड पुगेको अवस्थामा पनि नेपाली सेनाले भिड तितरबितर पारेको र भदौ २५ गतेदेखि नै विमानस्थल सञ्चालनमा ल्याउन सफल भएको दाबी गरिएको छ।
सेनाले दिएको विवरणअनुसार, आन्दोलनका क्रममा:
६८८ वटा सरकारी कार्यालय
२५९ निजी निवास
१२८ व्यापारिक प्रतिष्ठान
१९८ राजनीतिक दलका कार्यालय
३०७ प्रहरी कार्यालय
मा आगजनी तथा तोडफोड भएको थियो।
यस्तै, ९७८ वटा हतियार लुटिएकोमा ५८६ वटा मात्रै फिर्ता भएको छ।
जेनजी आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भएको भनिए पनि सेनाको सूचीमा २२ जना मात्र आन्दोलनकारीको रूपमा सूचीकृत छन्। बाँकीमध्ये ३ जना प्रहरी, १० जना कैदी र ४१ जनाको मृत्युको कारण अझै प्रस्ट नखुलेको छ। सञ्चारकर्मीहरूले यसबारे थप विवरण माग्दा सेनाले अनुसन्धान भइरहेको प्रतिक्रिया दिएको छ।
सेनाले आन्दोलनको क्रममा देखिएको "टिबेटियन ओर्जिनल ब्लड (TOB)" नामक समूहबारे गम्भीर चासो व्यक्त गरेको छ। उक्त समूहले आन्दोलनलाई उत्तेजक बनाएको र हतियार प्रदर्शन समेत गरेको उल्लेख गरिएको छ। "हामी यसबारे अध्ययन गरिरहेका छौं, हाम्रो डिएमआई टोलीले सूचना संकलन थालेको छ," उपरथी थापाले बताए।
सेनाले आफू आन्दोलनको बेला कुनैपनि नियतवश निष्क्रिय नभएको स्पष्ट पारेको छ। उपरथी थापाले भने, "हामी शान्ति, सुव्यवस्था र नागरिकको जीवन रक्षा गर्न खटिएका थियौं। सार्वजनिक सम्पत्तिमा क्षति रोक्न नसकेकोमा दुख लाग्छ, तर ठूलो जनधनको क्षति हुनबाट भने हामीले रोकेको विश्वास छ।"