राष्ट्रिय सभाको बैठकमा आज मन्त्रालयगत बजेटका शीर्षकमाथि छलफल गरिंदै
काठमाडौं । राष्ट्रिय सभाको बैठक सोमबार दिउँसो बस्ने भएको छ।
सोही बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो सवाँ १ बजे बस्ने भएको हो । सोमबारको बैठकमा विनियोजन विधेयक, २०८१ का विभिन्न शीर्षक अन्तर्गत मन्त्रालयगत छलफल हुने भएको छ ।
सोमबार वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत छलफल हुने सम्भावित कार्यसूची रहेको हो ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।