श्रीलंकामा एलटीटीईसहित १५ संस्था र २१० जना व्यक्तिको सम्पत्ति जफत
एजेन्सी । श्रीलंकामा आतंकवादी, चरमपन्थी गतिविधिमा कथित रूपमा संलग्न एलटीटीइसहित १५ संस्था, २ सय १० जना व्यक्तिहरूको सबै कोष, वित्तीय सम्पत्ति र आर्थिक स्रोतहरू जफत गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार रक्षा महासचिवको नाममा राजपत्रमा सूचना जारी गरिएको हो । सम्बन्धित कानून बमोजिम नाम, सूचीमा रहेका कुनै पनि व्यक्ति, संस्था वा निकायको स्वामित्वमा रहेको सबै कोष, अन्य वित्तीय सम्पत्ति र आर्थिक स्रोत जफत गर्न आदेश जारी गर्नुपर्ने उल्लेख गरिएको छ ।
१५ संगठनहरूमा लिबरेशन टाइगर्स अफ तमिल इलम (एलटीटीई), नेशनल तौहीद जमात (एनटीजे) र जमात मिल्लाथु इब्राहिम लगायत पर्छन्। एलटीटीईले श्रीलंकाको उत्तरी र पूर्वी प्रान्तहरूमा तमिलहरूका लागि छुट्टै मातृ-भूमिका लागि करिब ३० वर्षदेखि सैन्य अभियान चलाएको थियो । तर, श्रीलंकाली सेनाले यस संगठनका सर्वोच्च नेता वी प्रभाकरणको हत्या गरेपछि यो संगठन निष्क्रिय बनेको हो ।
त्यस्तै, अप्रिल २०१९ मा इस्टरमा घातक हमला पछाडि एनटिकेको हात थियो । सोही हमलामा ११ भारतीयसहित २ सय ७० जना भन्दा बढीले ज्यान गुमाएका थिए । सोही संगठनको आईएसआईएससँग सम्बन्ध रहेको विश्वास गरिन्छ ।
अन्य प्रतिबन्धित समूहहरूमा तमिल पुनर्वास संगठन, तमिल समन्वय समिति, विश्व तमिल आन्दोलन, तमिल इलमको संक्रमणकालीन सरकार र विश्व तमिल राहत कोष रहेको जनाइएको छन् ।