रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन गरौं: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा सरकारी स्वामित्वमा रहेका रुग्ण उद्योग पुनःसञ्चालनको सम्भाव्यताको बारेमा व्यवस्थित अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहीबार भएको छलफलमा उहाँले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योग धराशायी भएको बताउनुभएको हो । ती उद्योग पुनःसञ्चालन गर्न सकिने सम्भाव्यताका लागि व्यवस्थित अध्ययनको जरूरी भएको उहाँले बताउनुभएको छ ।
उहाँले भन्नुभयो,-'विगतमा राष्ट्रिय उद्योग चलाउनुपर्छ भन्ने जनअभिमत छ। ती उद्योगमध्ये केही उद्योग पुनःसञ्चालन गर्न सकिने सम्भावना पनि छ। हामीले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यो कुरा राखेका छौं। त्यसैले कुन–कुन उद्योग पुनःसञ्चालन गर्न सकिन्छ, त्यसको व्यवस्थित अध्ययन गरौं। अध्ययनको निष्कर्षका आधारमा अगाडि बढौं।'
प्रधानमन्त्री दाहालले सार्वजनिक निजी साझेदारीको मोडेलमा उद्योग पुनःसञ्चालन गर्ने नीतिमा राज्यका सबै निकाय प्रष्ट हुनुपर्ने बताउनुभयो। छलफलमा अर्थमन्त्री वर्षमान पुन, उद्योगमन्त्री दामोदर भण्डारी, मुख्य सचिव डा वैकुण्ठ अर्याल, अर्थसचिव मधुकुमार मरासिनी र उद्योग सचिव कृष्ण राउतको सहभागिता थियो ।