तलबभत्तामै साढे ५ करोड सकियो, जम्मा ३ वटा कानुन निर्माण
कोशी प्रदेशसभाको दोस्रो कार्यकालको ८ महिना सकिन लागेको छ । यस अवधिमा प्रदेश सांसदहरुलाई तलबभत्ताको नाममा साढे ५ करोड रुपैयाँ सकिएको छ ।
तथ्याङ्क अनुसार पुस १७ देखि अहिलेसम्ममा प्रदेशसभाको २४ वटा बैठक बसेको छ । आठ महिनामा पूरा हुँदा जम्मा २४ वटा बैठकमा ४३ घण्टा १५ मिनेट समय खपत भएको छ ।
प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा १३ वटा बैठक चलेको थियो । दोस्रो अधिवेशनमा ६ वटा र तेस्रो अधिवेशनमा जम्मा ५ वटामात्रै बैठक बसेको छ । तर, प्रदेशसभा सदस्यहरुका लागि ८ महिनामा प्रतिसांसद झण्डै ६ लाख रुपैयाँ लगानी भएको छ ।
प्रदेशसभाका सदस्यहरूका लागि गत साउनमा तलबमात्रै ६८ लाख ११ हजार २५ रुपैयाँ खर्च भएको छ । त्यो रकम मन्त्रीहरू बाहेकको हो । मासिकरूपमा एक जना प्रदेश सांसदले ५३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउँछन् भने घर भाडाबापत १९ हजार पाउँछन् । पानी, बिजुलीका लागि एक हजार पाँच सय र सञ्चार तथा पत्रपत्रिका शीर्षकमा दुई हजार ५ सय संसद् सचिवालयले प्रति प्रदेशसभा सदस्यलाई मासिक उपलब्ध गाराउँदै आएको छ ।
मन्त्रीहरूको हकमा प्रदेशसभाले सेवा सुविधा उपलब्ध गराउँदैन । त्यही हिसावले औसत ८ महिनाको खर्च निकाल्ने हो भने ५ करोड ४४ लाख ८८ हजार हुन आउँछ । संघीय संसदमा लामो समय संसद अवरुद्ध भएपछि संसद नचलेको दिनको तलबभत्ता लिन नहुने भन्दै सर्वसाधारणले आवाज उठाएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले नै संसद नचलेको दिनको तलबभत्ता नलिने निर्णय गरेको छ । तर, कोशी प्रदेशमा भने जम्माजम्मी ४३ घण्टा बैठक बसेर सांसदहरुले साढे ५ करोड सकेका हुन् । उनीहरु कसैले पनि अहिलेसम्म राज्यकोषको तलबभत्ता खाएको विषयमा हिनताबोध गरेका छैनन् ।