राहतकर्मीलाई निशाना बनाएर ड्रोन आक्रमण, तीन जनाकाे मृत्यु
सुडानको दक्षिण कोर्डाेफान राज्यमा राहत सामग्री बोकेको गाडीको लस्करमाथि गरिएको ड्रोन आक्रमणमा कम्तीमा तीन जना राहतकर्मीको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
सुडान डक्टर्स नेटवर्कले दिएको जानकारीअनुसार आक्रमण अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)ले गरेको हो । बिहीबार कार्ताला क्षेत्रमा खाद्यान्न र मानवीय सहायता बोकेका ट्रकहरूको लस्कर कादुग्ली र डिलिङ शहरतर्फ जाँदै गर्दा आरएसएफ र यसको सहयोगी सुडान पिपल्स लिबरेश मुभमेन्ट–नर्थले निशाना बनाएको आरोप लगाइएको छ।
सुडान डक्टर्स नेटवर्कले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै मानिसहरू सवार सवारी साधनको लस्करमाथिको जानाजानी आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुनको स्पष्ट उल्लङ्घन भएको बताएको छ ।
नेटवर्कका अनुसार एक महिनाभित्र राहतकर्मीहरूलाई निशाना बनाएर आक्रमण गरिएको यो दोस्रो घटना हो । यसअघि अल–रहाद शहरमा संयुक्त राष्ट्रसंघको सहायता बोकेको गाडीको लस्करमाथि गोलाबारी गरिएको थियो ।
संस्थाले अन्तर्राष्ट्रिय समुदाय, संयुक्त राष्ट्रसंघ र मानवअधिकार निकायलाई तत्काल दबाब सिर्जना गर्न आह्वान गर्दै राहतकर्मीको सुरक्षा सुनिश्चित गर्न, सुरक्षित मानवीय मार्ग खोल्न र दोषीलाई कारबाही गर्न माग गरेको छ ।
यस आक्रमणको स्वतन्त्र पुष्टि हुन नसकेको भए पनि यो घटना सुडानमा जारी भीषण गृहयुद्धकै क्रममा भएको हो । सरकार समर्थित सुडानिज आम्र्ड फोर्सेज (एसएएफ) र आरएसएफबिच अप्रिल २०२३ देखि सत्ता नियन्त्रणका लागि लडाइँ जारी छ ।
यसमा हजारौँको ज्यान गएको छ भने लाखौँ विस्थापित भएका छन् । राहत सामाग्री बोकेको सवारी साधनको लस्करमाथि दोहोरिँदै आएका आक्रमणले मानवीय सङ्कट झन् गम्भीर बन्ने खतरा बढाएको भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्।