दानबहादुर कार्कीको रिट दर्ताबारे आज टुंगो लाग्ने
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सरकारको निर्णयविरुद्ध दायर गर्न खोजेको रिट निवेदन दर्ता हुने वा नहुनेबारे आज टुंगो लाग्ने भएको छ।
सर्वोच्च अदालत प्रशासनले बिहीबार कार्कीको रिट अध्ययनका लागि राखेको थियो। अध्ययनका लागि समय लाग्ने भन्दै बिहीबार रिट दर्ता नगरिएको कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले जानकारी दिएका छन्।
सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका हुन्। मन्त्रिपरिषद्को निर्णयअनुसार डा. केसीले बुधबारदेखि नै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।
कार्कीको रिट शुक्रबार दर्ता भएमा प्रारम्भिक सुनुवाइका लागि भने तिहार बिदा सकिनुपर्नेछ। अदालतको बिदाका कारण रिटमाथिको प्रारम्भिक सुनुवाइ तिहारपछि मात्रै हुने सम्भावना छ।