त्रिभुवन विमानस्थलमा यात्रुले अब सामान झारिएको लाइभ फिड हेर्न पाउने
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले आफ्नो सामान विमानबाट झारेर ब्यागेज बेल्टसम्म ल्याउने प्रक्रियाको प्रत्यक्ष दृश्य (लाइभ फिड) हेर्न पाउने भएका छन्।
ब्यागेज व्यवस्थापनलाई पारदर्शी र यात्रुमैत्री बनाउने उद्देश्यले विमानस्थलको आगमन कक्षस्थित ब्यागेज क्लेम क्षेत्रमा लाइभ फिडको व्यवस्था गरिएको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यस व्यवस्थाबाट यात्रुले आफ्नो सामानको अवस्थाबारे प्रत्यक्ष जानकारी पाउनेछन्।
यसअघि सामान ब्यागेज बेल्टसम्म आइपुग्न लाग्ने समयबारे यात्रुलाई जानकारी हुने व्यवस्था थिएन। नयाँ व्यवस्थाले सामानको प्रतीक्षा गर्दा हुने अन्योल कम गर्नुका साथै यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।