सर्वोच्चका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सुरु, उजुरीकर्तासँग छलफल
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ प्रक्रिया सुरु गरेको छ। समितिले शुक्रबार सुरुमा प्रस्तावित न्यायाधीश जनक पाण्डेविरुद्ध उजुरी दिनेहरूसँग छलफल गरेको हो।
पाण्डेकी पत्नी माया पुरी पाण्डेसहित परिवारका सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै उजुरीकर्ताहरूले उनको नियुक्ति अनुमोदन नगर्न माग गरेका छन्।
समितिले त्यसपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूसँग सुनुवाइ गर्ने कार्यसूची राखेको छ।
न्यायपरिषद्ले गत असोज २० गते बागचन्द, सारू, पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।