भाइटीकाका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा तयारी सुरु
नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिएसँगै काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरु गरिएको छ।
भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ। काठमाडौं महानगरपालिका–२८ ले बजेट विनियोजन गरी मन्दिरको व्यवस्थापन तथा सरसफाइ थालेको हो।
दिदीबहिनी नभएका दाजुभाइले भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा पुगेर दर्शन तथा टीका ग्रहण गर्ने परम्परा छ। त्यसैले हरेक वर्ष भाइटीकाका दिन यहाँ भक्तजनको भीड लाग्ने गर्दछ।
राजा प्रताप मल्लको पालामा सन् १६७१ मा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको सम्पदा हो। २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिएको मन्दिर २०७७ सालमा पुनः सर्वसाधारणका लागि खुला गरिएको थियो।