नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २५ सय रूपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ।
यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ५ हजार पुगेको छ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला ४० रूपैयाँले बढेको छ। चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार तेजावी सुन १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै असली चाँदी १२०९ रूपैयाँमा कारोबार भइरहेको थियो।
अहिले रूस र युक्रेनबीच चलिरहेको द्वन्द्वका कारण विश्वकै बजार प्रभावित भएको छ। डलर, पेट्रोलियम पदार्थदेखि सुनसम्मको भाउ बढेको बढ्यै छ। यी तिनै वस्तुको भाउ एकअर्काको भाउमा निर्भर हुन्छ।
पेट्रोलियम पदार्थ उत्पादन गर्ने ठूला देशमध्ये रूस तेस्रो हो। युक्रेन आक्रमणमा लागेकाले रूसमा तेल उत्पादन कम भएको छ। जति उत्पादन भएको छ, त्यो पनि अन्य मुलुकलाई नबेची आक्रमणमा प्रयोग गर्न सञ्चिति गरेको छ। यसकारण पेट्रोलियम पदार्थको भाउ घट्ने कुनै संकेत देखिएको छैन।