आज रातिदेखि मंगलबारसम्म वर्षाको जोखिम, मौसम विभागको विशेष चेतावनी
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि मंगलबारसम्मका लागि पाँच दिने विशेष मौसम चेतावनी बुलेटिन जारी गरेको छ।
महाशाखाका अनुसार शुक्रबार र शनिबार देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना छ। विशेषगरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागमा वर्षाको जोखिम उच्च रहने प्रक्षेपण गरिएको छ।
शनिबार वर्षाको जोखिम अझ व्यापक हुने अनुमान गरिएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीका पहाडी तथा हिमाली क्षेत्रमा उच्च जोखिम रहने जनाइएको छ।
आइतबारदेखि मौसम प्रणाली पश्चिमतर्फ सर्दै जाने र पूर्वी क्षेत्रमा क्रमशः सुधार हुने विभागले जनाएको छ। सोमबारदेखि अधिकांश भूभागको मौसममा सुधार आउने तथा मंगलबार देशभर चेतावनीमुक्त हुने प्रक्षेपण गरिएको छ।
विभागले नदी तटीय तथा पहिरो जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन र स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई आपत्कालीन प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।