भोटेकोशी बाढीको एक महिना : १ हजार ४५३ को मृत्यु, ५ हजार ५५० बेपत्ता
रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी आएको एक महिना पुगेको छ। गत भदौ १० गते आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा हालसम्म १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५५० जना बेपत्ता छन्। १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। प्रभावितको खोज, उद्धार, राहत तथा अन्य सेवामा तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी परिचालित छन्।
बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन छ। द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
बाढीबाट ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन्। यस्तै, ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य आयोजना प्रभावित भएका छन्।
त्यसैगरी, ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको छ भने ३७ मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ वटा बगेका छन्। ६८ झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ। बाढीबाट करिब ८ हजार ३०० घरपरिवारका ४० हजार मानिस प्रभावित भएको विवरणमा उल्लेख छ।
उत्पादन क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ। बाढीका कारण १ हजार ८०६ हेक्टर कृषि बाली प्रभावित भएको छ भने पशुपालन, पन्छीपालन तथा माछापालनमा समेत क्षति पुगेको छ। १७ बैंक शाखा र करिब ४ हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्।
बाढीपछि नेपाल रेडक्रस सोसाइटीले खोज तथा उद्धारसँगै राहत र मानवीय सहायता निरन्तर गर्दै आएको जनाएको छ। अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)को आपत्कालीन कोषमार्फत १२ लाख अमेरिकी डलर परिचालन गरी प्रभावित क्षेत्रमा तत्काल सहायता पुर्याइएको थियो।
रेडक्रसका अनुसार हालसम्म १ हजार २१८ सेट आवास तथा गैरखाद्य सामग्री, ५६३ त्रिपाल, ७०१ म्याट्रेस र १ हजार ३२४ कम्बल वितरण गरिएको छ। करिब २ हजार प्रभावित परिवारलाई खाद्य सामग्री उपलब्ध गराइएको छ।
एक महिनाको अवधिमा २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्याइएको छ। १ हजार ७१० जनाले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग पाएका छन् भने आपत्कालीन स्वास्थ्य क्लिनिकमार्फत १ हजार २३९ जनालाई स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।
यस्तै, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनासम्बन्धी २ हजार २९१ केसमा सहजीकरण गरिएको र शव व्यवस्थापनका लागि सुरक्षा निकायलाई २ हजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको रेडक्रसले जनाएको छ।
धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई बहुउद्देश्यीय नगद सहायता उपलब्ध गराइएको छ। प्रभावित समुदायबाट प्राप्त करिब ३५० गुनासा, जिज्ञासा तथा सुझावमा आवश्यक सहजीकरण गरिएको छ।
रेडक्रसले प्रभावित क्षेत्रमा १७ स्थानमा सूचना तथा सहायता कक्ष सञ्चालन गरिरहेको जनाएको छ। विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने र प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा काम गर्ने योजना रहेको जनाएको छ।