पश्चिम सिक्किममा ठूलो पहिरो, दर्जनौँ घर तथा संरचनामा क्षति
पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातारको वर्षापछि ठूलो पहिरो गएको छ।
बिहीबार राति गएको पहिरोले हिलो, ढुंगा र माटो बस्तीमा बगाउँदा ऊर्जा विभागका सरकारी आवाससहित धेरै संरचनामा क्षति पुगेको अधिकारीहरूले बताएका छन्। पहिरोका कारण केही घर पूर्णरूपमा ध्वस्त भएका छन् भने केहीमा आंशिक क्षति पुगेको छ।
हालसम्म पहिरोमा मानवीय क्षति भएको पुष्टि भएको छैन। तर लगातार वर्षा भइरहेकाले आसपासका बस्ती थप जोखिममा रहेको भन्दै स्थानीयमा त्रास बढेको छ।
अधिकारीहरूले प्रभावित क्षेत्रमा क्षतिको मूल्याङ्कन तथा अवस्थाको निगरानी गरिरहेका छन्। जिल्ला विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए), गान्तोकले पनि वर्षाजन्य घटनाबाट भएको क्षतिको विवरण संकलन गरिरहेको जनाएको छ।
अधिकारीहरूले पहिरो जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न र विशेषगरी रातिको समयमा सतर्कता अपनाउन आग्रह गरेका छन्। अस्थिर भिरालो क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सम्भावित जोखिमका संकेत देखिए तत्काल सुरक्षित स्थानमा जान र सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।