पहिरोले बुटवल- तानसेन सडकखण्ड अवरूद्ध
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो झर्दा सिद्धार्थ राजमार्गको बुटवल- तानसेन सडकखण्ड अवरूद्ध भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ नागमन्दिर र सिद्धबाबा मन्दिर नजिकै दुई स्थानमा पहिरो झरेको प्रहरीले जनाएको छ। सोमबार बिहान साढे ५ बजेतिर सडकमाथिबाट ढुंगा सहितको पहिरो झरेर सडक अवरूद्ध भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।
अहिले पनि पानी परिरहेकोले पहिरो झर्ने क्रम रोकिएको छैन।
पानी पर्न रोकिएर पहिरो झर्न छोडेपछि मात्र पहिरो हटाउन सकिने प्रहरीले जनाएको छ। बुटवल-पाल्पा सडकखण्डमा साउन महिना लागेयता दर्जनौं स्थानमा पहिरो झरेर सडक अवरूद्ध हुँदै आएको छ। हिउँदयाममा चट्टान सहितको ढुंगे पहिरो र धुले पहिरोले सडक अवरूद्ध हुने यो सडक वर्षायाममा झनै जोखिमपूर्ण मानिन्छ।
साउन महिनायता पहिरोका कारण बुटवल-तानसेन सडकखण्ड सात दिन अवरूद्ध भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। एक ठाउँको पहिरो हटाउने बित्तिकै पुनः अर्को स्थानमा पहिरो झर्ने क्रम बढिरहेको छ। बुटवल-तानसेन सडक खण्डको सिद्धबाबा, नागमन्दिर, हेडबक्स, कालिमाटी, दोभान, डुम्रे, गौंडेपुल, झुम्सा लगायतको स्थानमा पटक/पटक पहिरो झर्दै आएको छ।
वर्षायाममा मात्र नभई हिउँदयाममा समेत पहिरोको अत्यन्त जोखिम पूर्ण रहेको यो सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।