सप्तकोशीमा पानीको वहाव उच्च, रातो बत्ती बालियो, भारतले ३२ ढोका मात्र खोल्यो
(सुनसरी) सप्तकोशी नदीमा पानीको वहाव उच्च भएपछि रातो बत्ती बालिएको छ । अहिले सप्तकोशी व्यारेजको दुबैतर्फ रातो झण्डा समेत राखेर सर्वसाधारणलाई सचेत गराइएको छ । सप्तकोशीमा पानीको बहाव खतरा उन्मुख भएपछि रातो बत्ती बालिएको स्थानीय प्रशासनले जनाएको छ ।
आज बिहान ६ बजेको मापन अनुसार सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ५ हजार ६७५ क्युसेक पुगेको बताइएको छ । पानीको बहाव उच्च हुँदा समेत भारतले सप्तकोशी ब्यारेजका ५६ मध्ये ३२ वटा मात्र ढोका खोलेको छ । सप्तकोशीमा मंगलवार पानीको बहाव प्रतिसेकेण्ड एक लाख ८२ हजार एकसय क्युसेक पुगेको थियो । भारतले थप ढोका नखोलेका कारण थप जोखिम बढेको हो ।
सप्तकोशीमा एक लाख ५० हजार क्युसेक पानीको बहाव पुगेपछि खतराको अवस्था मानिन्छ । सप्तकोशीमा पानीको बहाव खतरा उन्मुख भएको भन्दै कोशी आसपासका क्षेत्रमा नजान स्थानीय प्रशासनले स्थानीयलाई आग्रह गरेको छ । सप्तकोशीमा पानीको बहाव उच्च भएपछि उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तयारी अवस्थामा राखिएको छ ।