चीनस्थित वाणिज्य दूतावास अमेरिकी कूटनीतिज्ञहरू धमाधम छाड्न थाले
चीनको दक्षिण-पश्चिमी शहर चङ्गदुस्थित अमेरिकी वाणिज्य दूतावासका कूटनीतिज्ञहरूले धमाधम उक्त दूतावास छाेड्न थालेका छन् । चीन र अमेरिकाबीच व्यापार युद्ध नयाँ उत्कर्षमा पगेसँगै दुवै देशले एक-अर्काकाे वाणिज्य दूतावास हटाएपछि कूटनीतिज्ञहरूले छाड्न थालेका हुन् ।
बिबिसीका अनुसार बन्द गर्नुपर्ने सोमबार बिहानसम्मको समयसीमाभन्दा केही घण्टाअघि नै अमेरिकी कर्मचारीहरूले बक्स फाइल र फोहोर राखिएका झोला बोकेको देखिएकाे छ । त्यस क्रममा वाणिज्य दूतावास भवनबाहिर स्थानीय बासिन्दाको भीड लागेकाे समेत देखिएकाे छ । उनीहरूमध्ये धेरैले चिनियाँ राष्ट्रिय झण्डा बोकिरहेका छन् भने कतिपयले सेल्फी लिइरहेका छन् ।
अमेरिकाले गत हप्ता टेक्ससको ह्युस्टनस्थित चिनियाँ वाणिज्य दूतावासलाई बन्द गर्न लगाएको प्रतिक्रिया स्वरूप चीनले अमेरिकी वाणिज्य दूतावासलाई पनि बन्द गर्न भनेको हो । जानका लागि चिनियाँ कूटनीतिज्ञहरूलाई दिइएको ७२ घण्टे म्याद शुक्रवार सकेपछि अमेरिकी अधिकारीहरू वाणिज्य दूतावास भवनभित्र छिर्नका लागि ढोका खोल्न लगाएको संवाददाताहरूले देखेका थिए ।