नेपालको आर्थिक वृद्धि अर्थमन्त्रीको दाबीभन्दा धेरै कम
काठमाडौं । विश्व बैङ्कले सन् २०२० मा कोभिड-१९ को महामारीका बीच दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालको आर्थिक वृद्धिदर तुलनात्मक रुपमा सबैभन्दामाथि रहने अनुमान गरेको छ ।
तर यो वृद्धिको प्रक्षेपण आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले प्रक्षेपण गरेको अनुमानभन्दा निकै तल छ । सरकारले आगामी वर्ष सात प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेपनि विश्व बैङ्कले सन् २०२०मा १.८ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।
विश्व बैङ्कले गरेको प्रक्षेपणअनुसार सन् २०२१ मा समेत नेपालको आर्थिक वृद्धिदर मात्र २.१ प्रतिशतमा खुम्चिने छ । यसबाट अर्थमन्त्रीले आगामी आर्थिक वर्षका लागि प्रक्षेपण गरेका सात प्रतिशतको आर्थिक वृद्धिदरभन्दा निकै कम आर्थिक वृद्धिदरबाट नेपाल गुज्रने विश्व बैङ्कको निष्कर्ष छ ।
दक्षिण एसियामा नेपाल अगाडि
कोरोना भाइरसको महामारीले पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुक सबैभन्दा नराम्रोसँग प्रभावित हुने भएको छ । दक्षिण एसियाली मुलुकमध्ये सन् २०२० मा माल्दिभ्सको अर्थतन्त्र सबैभन्दा ऋणात्मक रहने प्रक्षेपण छ । यो मुलुकको आर्थिक वृद्धिदर १३ प्रतिशतमा ऋणात्मक देखिने भएको छ ।
माछाको व्यापार र पर्यटनमा आधारित यो देशमा अर्थतन्त्र सन् २०२१ मा भने उल्लेख्य सुधारको प्रक्षेपण गरिएको छ । दक्षिण एसियामा अफगानिस्तान, भारत, श्रीलंका र पाकिस्तानको अर्थतन्त्रसमेत ऋणात्मक हुने प्रक्षेपण विश्व बैङ्कको छ।
विश्व अर्थतन्त्रबारे विश्व बैङ्कले गरेको अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै विश्व बैङ्कले सन् २०२० मा भारतको अर्थतन्त्रमा ३.२ प्रतिशतको गिरावट आउने अनुमान गरेको छ । भारतीय अर्थतन्त्रको दृष्टिकोणबाट यो विशाल खाडल हो । भारतले सन् २०२१ मा भने यो खाडल पुर्नसक्ने अनुमान गरिएको छ । सन् २०२१ मा भारतले फेरि ३.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य छ।
भारतले वित्त वर्ष सन् २०१९/२० मा भने ४.२ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने अनुमान छ। यसको समय भने मार्च २०२० मै सकिएको छ । दक्षिण एसियाका सबै मुलुकमध्ये २०२० मा नेपालमाथि रहने प्रक्षेपण विश्व बैङ्कले गरेको छ । यसका बाबजुद दक्षिण एसियाको आर्थिक वृद्धि २.७ प्रतिशतले संकुचनमा आउने भएको छ । सन् २०२१ मा यो संकुचनमा सुधार आउने अनुमान गरिएको छ ।