घोराही उपमहानगरको बजेट १ अर्ब ८५ करोड २२ लाख
(काठमाडौं) दाङको घोराही उपमहानगरपालिकाले १ अर्ब ८५ करोड २२ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत वर्ष घोराही उपमहानगरले १ अर्ब ७८ करोड २९ लाख ६६ हजारको बजेट ल्याएको थियो । यस हिसाबले गत वर्षको तुलनामा यस वर्ष घोराहीको बजेट ७ करोेडभन्दा पनि बढेको छ ।
घोराही उपमहानगर उपप्रमुख सीता सिग्देल न्यौपानेले बुधबार नगरसभामा आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेकी हुन् ।
घोराही उपमहानगरले चालुतर्फ १ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँ (५८.६० प्रतिशत) रकम विनियोजन गरेको छ । यस्तै पुँजीगततर्फ ७६ करोड ६५ लाख ७१ हजार (४१.४०) प्रतिशत रकम विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यहोर्न आन्तरिक आयबाट २५ करोड, संघीय वित्तीय समानीकरण अनुदानबाट ३२ करोड ७२ लाख, संघीय राजश्व बाँडफाँटबाट २१ करोड १२ लाख १० हजार ६ सय र संघीय सशर्त अनुदानबाट ६४ करोड ७ लाख रुपैयाँ जुटाउने घोराही उपमहानगरपालिकाले जनाएको छ ।
यस्तै संघीय समपुरक अनुदानबाट ७२ लाख, प्रदेश समानीकरण अनुदानबाट ७९ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँटबाट २ करोड ७१ लाख १९ लाख हजार, प्रदेश सशर्त अनुदानबाट ७ करोड ६८ लाख ५० हजार र प्रदेश समपुरक अनुदानबाट ३ करोड व्यहोर्ने घोेराही उपमहानगरले जनाएको छ । यसबाट अपुग हुने रकम २७ करोड ४० लाख ४० हजार ४ सय रुपैयाँ बैंक मौजदातबाट व्यहोरिने घोराही उपमहानगरपालिकाकी उपप्रमुख न्यौपानेले जानकारी दिइन् ।